काठमाडौं । भूमि सम्बन्धी विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिन बोलाइएको बैठक दुई मिनेटमै स्थगित भएको छ । शनिबार संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे १० बजेका लागि बोलाइएको थियो ।
बैठकको एजेण्डा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने थियो । त्यसअघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीसहित सांसदहरूले आन्तरिक छलफल गरेका थिए ।
मन्त्री अधिकारी बाहिएपछि समितिको औपचारिक बैठक सुरु भएको थियो । समिति सभापति कुशुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको बताइन् । तर, आन्तरिक छलफलमा थप अध्ययन गर्न समय चाहिने उनले जानकारी दिइन् । थप अध्ययनपछि अर्को बैठक बस्ने उनको भनाइ छ ।
सभापति थापाले बैठक सुरु भएको दुई मिनेटमै स्थगित भएको जानकारी गराएकी थिइन् । उनले भनिन्, ‘ड्राफ्ट तयार भएको थियो, त्यसमा माननीयज्युहरुले अध्ययन पुगेन, केही समय चाहियो भन्नुभयो। त्यसैले आजका लागि बैठक स्थगित गरेका हौँ।’
कांग्रेस सांसद प्रतिमा गौतमले संशोधन कर्ताहरुसँग थप छलफल गर्नुपर्ने भएकाले पनि बैठक स्थगित गर्नुपरेको बताइन् । नेकपा एमाले सांसद सरस्वती सुब्बाले सबै प्रक्रिया सकिसकेपछि समितिले प्रतिवेदनका रुपमा टुंग्याउनुपर्ने प्रावधानअनुसार त्यसअघि सांसदहरुले अध्ययन गर्नुपर्ने भएकाले समय माग गरिएको बताइन्।
