काठमाडौं । नेकपा एमालेमा सचिव योगेश भट्टराईले उपसभामुखले कसैलाई जानकारी नगराई विना स्वीकृति विदेश भ्रमण गरेको विषयप्रति जवाफ दिनुपर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले आचारणको विषय सबैमा लागूहुने भन्दै १० पटक कसैले जानकारी नगराई कस्तो निम्तोमा कहाँ गएको भनी संसदलाई जानकारी गराउनुपर्ने बताएका हुन् । उपसभामुख इन्दिरा राना मगर हाल अमेरिका भ्रमणमा छिन् ।
उनले भने, ‘उपसभामुख १७ पटक विदेश भ्रमण गर्नुभएको छ । त्यसमध्ये सात पटक सभामुखको स्विकृति गरेर भ्रमण गरेको देखिन्छ । १० पटक कसैले पनि स्वीकृत गरेको छैन । के आधारमा उहाँ भ्रमण गरिरहनु भएको छ । कहाँ जानुभयो ?कसको निम्तोमा जानुभयो ?’
सभामुखको स्वीकृति विना उपसभामुख विदेश भ्रमण जानु विषय आचरणको विषय भएको भन्दै उनले भने, ‘उपसभामुख विदेश भ्रमण गएको कुरा यो आचरणको विषय हो कि होइन, उपसभामुखले पालना गर्नुपर्ने विषय हो कि होइन ? यहाँ धारा ९१ प्रयोग गर्ने कि नगर्ने ? यी प्रश्नको जवाफ संसदले खोज्छ । यो प्रश्नको जवाफ उपसभामुखबाट पनि खोज्छ, यो प्रश्नको जवाफ सभामुखबाट पनि खोज्छ ।’
उनले बाल संगठनको बालगृहबाट पाँच जना बालबालिका हराएको घटनामासमेत उपसभामुख जोडिएको बताए । उनले भने, ’२०७२ साल कात्तिक १७ गते बाल संगठनबाट पाँच जना बच्चाहरू हराउँछन्। ती बच्चाहरू कहाँ गए भनेर खोजीनीति हुन्छ। त्यस सन्दर्भमा २०७२ माघ १८ गते सो कार्यालयका एक जना कर्मचारीले केन्द्रीय बालकल्याण समितिमा गएर एउटा बयान दिन्छन्। उनले भन्छन्– ती बालबालिकाहरू पिए नेपाल नाम गरेका संस्थाका मानिसहरूले जबरजस्ती लिएर गएका छन्। त्यो पिए भनेको प्रिजनर्स असिस्टेन्ट नेपाल हो। त्यसको कार्यकारी प्रमुख अहिलेका उपसभामुख हुनुहुन्थ्यो । त्यस सम्बन्धमा २०७६ कात्तिक १४ गते तत्कालीन सरकारले पाटन उच्च अदालतका पूर्वन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा उच्च स्तरीयजाँचबुझ आयोग बनायो। त्यसले व्यापक अध्ययन गरी प्रतविदेन दिएको छ। तर आजसम्म सार्वजनिक भएको छैन ।’
