मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ग्रामीण भेगका विपन्न कृषकलाई उन्नत प्रविधिबाट कृषि उत्पादनलाई अघि बढाउन प्रदेश सरकारले आर्थिक ‘प्याकेज’ सहित कार्यक्रम सञ्चालन गर्ने बताएका छन् ।

आइतबार मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संंस्थागत सुत्केरी नगर घोषणासभामा उनले आफ्नो सरकारले गाउँ र जनमुखी कार्यक्रमका साथ प्रदेशमा सुशासन ल्याउने कार्यलाई प्राथमिकता दिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री बानियाँले जिल्लाको राक्सिराङ, कैलाश, मनहरिबाट रुपचन्द्र बिष्ट थाहामार्गलाई प्रदेश सरकारले यसै आर्थिक वर्षभित्रै निर्माणको थालनी गर्ने र जनतालाई स्वास्थ्य उपचारलगायत अन्य सेवा प्रवाह गर्ने बताए।

प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्तिलाई कृषि उत्पादनका लागि आवश्यक ऋण उपलब्ध गराउन आग्रह गरे । उनले यहाँ उत्पादन हुने मौसमी तरकारी, फलफूल र खाद्यान्नलाई बजारसम्म पुर्याउने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।