-रञ्जनकुमार दाहाल ।
ठूला तीन दलका प्रमुख तीन नेताले नवयुवाको चाहना नबुझ्नु र उहाँहरुलाई नपच्नु त स्वाभाविक हो, तर देवप्रकाश त्रिपाठीजी, सौरभजी लगायतका नागरिक अगुवाहरुलाई असह्य हुनुको कारण पटक्कै बुझिन ! किन होला ? विभिन्न पार्टी सित गहिरोसँग आवद्ध प्राध्यापक साथीहरु सित अहिलेको राजनीतिक परिवेशको अलिकति गोसिप गरेको त, कहालीलाग्दो अवस्था देखें । सबैले नवयुवाहरुको चाहनालाई खिसीट्युरी गर्नुभयो ! पुरै फलानो देशले नै गराएको भन्नुभयो र ठोकुवा गर्नुभयो । पिएचडी गरेका र राजनीतिक नियुक्ति खाइरहेका एक जना मेरा पुराना विद्यार्थीले त देउवाजीको घरमा जलेको पैसा सबै एआई भिडियो नै हो भनेर किटान नै गरे । नेपालको भ्रष्टाचारले शोभित राजनीतिको मिठास यति गहकिलो छ कि नेपालीले आफ्नो शैक्षिकस्तर समेत भुल्दो रहेछ ।
केही पत्रकार साथीहरु जसलाई मैले भन्नासाथ अन्तरवार्ता दिन्थे र लेख लेखेर दिन्थे, आज नवयुवाको क्रान्ति पूर्णतः गलत भन्न हजारौं प्रयास गर्ने क्रममा छानीछानी नवयुवाले रोजेका परिवर्तनको विरोधीहरुको अन्तरवार्ताहरु र समाचार मुख्य पृष्ठमा प्रसारण गर्न उद्दत देखिनु भएको छ । यस्तै अन्तरवार्तामा सौरभजीले त परिवर्तन चाहने काठमाडौका मेयरलाई ‘लुसिफर’नै भनिदिनुभयो । मलाई थाहा छ बालेनजीको दशौं कमजोरी छन् । तर बालेनजीलाई ‘लुसिफर’ भन्नु अति हो र हाम्रा केटाकेटीहरुको मनोभावनालाई पुरै नकार्नु र त्यसको धज्जी उडाउनु हो ।
मेरो गत २० दिनको अनुभवमा हाम्रो समाजको सबै तप्का नवयुवाले खोजेको परिवर्तन चाहँदैन र सिधा कुरा भन्न जिब्रो चपाए पनि धेरैजसोलाई देश यसैगरी नेताहरुको घरमा अर्बौं पैसा जम्मा गरेरै चल्नुपर्छ भन्नेमा छ र यसको दरो प्रमाण ‘नेताहरुको घरमा पाँच सात करोड भेटिनु कौनसा ठूलो कुरा हो, पार्टी र कार्यकर्ता चलाउन अलि अलि पैसा चाहिहाल्छ नी !’ भनेबाट प्रष्ट हुन्छ ।
हाम्रा नानीबाबुहरुको टाउको र छातीमा हानिएका गोलि र बगेका रगतको भल आलै छ, तर समाजको सबै तह, अनि हाम्रो समाजका सक्षम र देश प्रति ईमान्दार भनेर आश गरेका व्यक्तित्वहरु पुरै संस्कारहिन राजनिती र भ्रष्टाचारको पोषण गर्न लागि परेको भेटेको छु!
प्रधानमन्त्री सुशीला कार्कीजी लगायत सबै मन्त्रिहरुलाई नव युवाहरुको चाहना पुरा गर्न अब ठुलो कसरत गर्नुपर्ने छ । सामाजिकसंजाल पुरै भडुवा प्रवृतिमा गएको छ र सरकारले सही सूचना दिन ढिलो गरेको छ । आम जनता ऋषिजी, टीकारामजी र दिलभुषणजीहरुका टक सो को भरमा देश नै रहदैन भन्दै बसेका छन् । नेपाल सरकार चाँडो बिउझिनु पर्यो । आँखा खोल्नुपर्यो र नवयुवाको रगतको भल खेर जान नदिन दिन रात काम गर्नुपर्यो । नेपाल सरकार स्लो भएको छ । सरकारले जनतालाई आफूले गरेका कामहरुको सहि सूचना दिन कन्ज्युस्याइँ गर्न हुदैन । हाम्रो महान चाडपर्व रमाउँदै मनाउँ । तर सबैले हाम्रा नानीबाबुहरुको टाउको र छातीमा हानिएका गोली र बगेका रगत कदापी नभुलौं ।
