काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपाल भियतनामसँग पराजित भएको छ । भियतनामको होचि मिन्हस्थित गो डाउ स्टेडियम बिहीबार राति भएको समूह ‘एफ’को खेलमा घरेलु टोलीसँग नेपाल ३–१ ले पराजित भएको हो ।
यस जितसँगै भियतनाम ३ खेलबाट दुई जितसहित ६ अंक जोड्दै समूह ‘एफ’ मा दोस्रो स्थानमा उक्लिएको छ । मलेसिया ९ अंकसहित शीर्ष स्थानमा छ। लाओसले ३ अंक जोडेको छ भने नेपाल तीनै खेलमा पराजित हुँदै अंकविहीन अवस्थामा छ ।
नेपालले यसअघि मलेसियासँग २–० र लाओससँग २–१ को हार बेहोरेको थियो । भियतनामको जितमा नुगुएन टिएन लिङ, फाम जुआन मान्ह र नुगुएन भान भीले गोल गरे। नेपालका लागि एक मात्र गोल सनिश श्रेष्ठले गरेका हुन् । खेलको नवौं मिनेटमा लिङले गोल गर्दै भियतनामलाई अग्रता दिलाए।
तर, आठ मिनेटमै पछि नै सनिशले नेपालका लागि बराबरी गोल फर्काए । पहिलो हाफ बराबरीमै टुंगिएको खेलको दोस्रो हाफमा भने भियतनाम हाबी रह्यो। मान्हले ६७औं मिनेटमा र भान भीले ७२औं मिनेटमा गोल गर्दै भियतनामको जित सुनिश्चित गरे ।
