काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेतृ रामकुमारी झाँक्रीले भयानक होला भनेर सुरु गरेको एकीकृत समाजवादी पार्टीसँगको यात्रा समाप्त भएको बताएकी छन् ।

बुधबार पत्रकार सम्मेलन गरी झाँक्रीले एकीकृत समाजवादी आजै दिउँसो विघटन हुने भएकाले पार्टीसँगको आफ्नो यात्रा टुंगिएको बताइन् । उनले भनिन्, ‘सुरुका दिनमा भयानकै अभियान चल्छ होला भन्ने विश्वासले लागेका थियौं । त्यो अभियान समाप्त भएको छ । हाम्रो अध्याय टुंगिएको छ । अहिले यो हाम्रो ‘पज’को अवस्था हो ।’

उनले माधव नेपाललाई निर्वाचन आयोगमा डोर्याएको दृष्यलाई लिएर आफूमाथि प्रश्न उठेको भन्दै त्यसलाई एउटा बिम्बको संज्ञा दिइन् ।

उनले भनिन्, ‘फोटोलाई लिएर मलाई पार्टी विभाजनका लागि मुख्य जिम्मेवार बनाइयो । त्यो एउटा बिम्ब मात्र थियो ।’

उनले लोकतन्त्रको प्रत्याभूति र शान्ति सुरक्षाका लागि राजनीतिक दलहरूलाई नै जिम्मेवार बनाउन जरुरी रहेको बताइन् ।

उनले एमाले र माओवादी मिलेर नेकपा बनेसँगै पार्टीभित्रको लोकतन्त्र समाप्त भएको तथा आज माओवादी र एकीकृत समाजवादी लगायतको एकताले पनि लोकतन्त्र नासिने जिकिर गरिन् । माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ दलबिच आजै पार्टी एकता हुँदैछ ।