अख्तियारले चालिसेले ३ करोड ६८ लाख ४७ हजार ४ सय ६१ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको छ । अख्तियारले चालिसेकी श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेललाई पनि गैरकानूनी सम्पत्तिबाट खरिद तथा लगानी गरिएका सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।
त्यसैगरी, चालिसेले आर्थिक वर्ष २०७७/७८ को सम्पत्ति विवरण पेस नगरेको पाइएकाले भ्रष्टाचार निवारण ऐन अनुसार जरिवाना असुल गर्न गोकर्णेश्वर नगरपालिकालाई पत्राचार गरिने अख्तियारले जनाएको छ। चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । २०७९ को निर्वाचनमा उनी काठमाडौं ३ बाट सांसद निर्वाचित भएका हुन् ।



