काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले महान्यायाधिवक्ता कार्यालयमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता गर्न अनुरोध गर्दै निवेदन दिएको खुलेको छ ।
आफूविरूद्ध लगाइएका मुद्दामध्ये सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी कसुर गरेको भन्दै सरकारी वकिल कार्यालयले लगाएको अभियोगदाबी फिर्ता लिन अनुरोध गर्दै निवेदन दिएको खुलेको हो । उनले कारागारमा हुँदा नै अभियोग फिर्ता गरिदिन भनेर निवेदन दिएका थिए ।
लामिछानेविरूद्ध कास्की, चितवन, काठमाडौं, रूपन्देही र पर्सा अदालतमा सहकारी ठगीको मुद्दा दायर भएका छन् । गत पुस ३ गते उच्च अदालत बुटवल तुलसीपुर इजलासले लामिछानेलाई सुप्रिम सहकारीको ठगी प्रकरणमा बिगो बमोजिमको धरौटी जमानत बुझाएर छाड्न आदेश दिएको थियो।
यसरी रविले मुद्दा फिर्ताका लागि निवेदन दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । अभियन्ता युवराज सफलले बुधबार अख्तियारको केन्द्रीय कार्यालय टंगालमा पुगेर उजुरी दर्ता गरेका हुन् ।
उनले उजुरीमा रवि लामिछानेमाथि चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने तयारी भइरहेको दाबी गरेका छन् । उजुरीमा उक्त प्रक्रिया आर्थिक प्रलोभन र प्रभावका आधारमा अघि बढाइएको आफूले जानकारी पाएको उल्लेख गर्दै त्यसलाई अघि बढ्न नदिन आग्रह गरेका छन् ।
अदालतमा विचाराधीन रहेको मुद्दा चलखेलका आधारमा फिर्ता लिन खोज्नु पदको दुरुपयोग र भ्रष्टाचार हुने उल्लेख गर्दै सफलले महान्यायाधिवक्तामाथि कानुनअनुसार छानबिन र कारबाहीको माग गरेका छन्।
