काठमाडौँ। उपत्यकामा सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधनको अवस्था, सुरक्षा मापदण्ड र ट्राफिक नियमको पालनाबारे निगरानी गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अनुगमन तथा छड्के निरीक्षण अभियान सुरु गरेको छ।

यात्रुको सुरक्षा, सार्वजनिक यातायातको सेवा सुधार तथा दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै बुधबारदेखि नियमित रूपमा छड्के निरीक्षण थालिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

उपत्यकामा सञ्चालित सार्वजनिक यातायातका साधनमा अनिवार्य रूपमा जडान गर्नुपर्ने सीसीक्यामेरा, ड्यासबोर्ड क्यामेरालगायत सुरक्षा उपकरण जडान गरिएका छन् वा छैन भन्ने विषयमा विशेष ध्यान दिएर अनुगमन सुरु गरिएको कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

सार्वजनिक सवारी साधनको सरसफाइ, चालक तथा सहचालकको व्यवहार, क्षमताभन्दा बढी यात्रु बोकिएको अवस्था र ट्राफिक नियमको पालनासम्बन्धी विषयमा समेत निगरानी गरिएको उनले बताए।

अनुगमनका क्रममा ट्राफिक प्रहरी प्रमुख अधिकारीसहितको टोलीले सार्वजनिक बसमा यात्रा गर्दै उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। टोलीले चालकहरूले लेन अनुशासन पालना गरे–नगरेको, यात्रु चढाउने तथा ओराल्ने स्थानको उचित प्रयोग भए–नभएको, मोबाइल प्रयोग गरेर सवारी चलाइएको तथा गति नियन्त्रणबारे समेत निगरानी गरेको जनाइएको छ।

पछिल्लो समय सार्वजनिक यातायातमा यात्रुको गुनासो बढ्दै गएको, सवारी साधनको लापर्बाहीका कारण दुर्घटनाको जोखिम उच्च रहेको तथा सुरक्षा उपकरणको प्रयोग प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै यस्तो अभियान सञ्चालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले बताए। आगामी दिनमा पनि उपत्यकाका मुख्य रुटहरूमा निरन्तर अनुगमन जारी रहने उनले बताए।