किएभ  । युक्रेनका विभिन्न क्षेत्रमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले शुक्रबार बताएका छन् । युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू कम भएकाले पछिल्लो समयमा मस्को र किएभले एक–अर्कालाई लक्षित गर्दै हवाई तथा ड्रोन आक्रमणहरू तीव्र पार्दै आएको जनाइएको छ ।

युक्रेनको दक्षिणी सहर खेरसनमा भएको रूसी ड्रोन आक्रमणमा एक जना ७५ वर्षीय वृद्धको मृत्यु भएको सहरको सैन्य प्रशासनका प्रमुख यारोस्लाव सान्कोले बताएका छन् ।

जापोरिझियामा भएको अर्को ड्रोन आक्रमणमा एक जना महिलाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएको आपतकालीन सेवाले जनाएको छ ।

रूसी ड्रोन आक्रमण तथा गोलाबारीले निप्रोपेट्रोभस्कको पाभ्लोग्राड जिल्लामा एक जना महिलाको ज्यान गएको क्षेत्रीय गभर्नर ओलेक्सान्डर गान्जाले शुक्रबार टेलिग्राम माफएत पुष्टि गरेका छन् ।

रूसले सन् २०२२ देखि युक्रेनलाई ड्रोन तथा मिसाइलले प्रहार गर्दै देशको दक्षिण र पूर्वका भागहरू कब्जा गरी रहेको छ । यसैगरी उत्तरपूर्वी युक्रेनको कोनोटोप सहरमा भएको रूसी आक्रमणमा तीन जना बालबालिका घाइते भएको सहरका मेयर आर्टेम सेमेनिखिनले टेलिग्राम मार्फत बताएका छन् ।

रूसको रक्षा मन्त्रालयले शुक्रबार विभिन्न क्षेत्रमा १२३ वटा युक्रेनी ड्रोनहरू रोकी नष्ट गरेको बताएको छ भने युक्रेनको वायुसेनाले रातारात १९८ रूसी ड्रोन खसालेको बताएको छ ।