काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल–भारत सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने बताएका छन् । शुक्रबार भारत भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । उनले कुनै पनि विषयको समाधानका लागि कूटनीतिक पहल सबैभन्दा महत्त्वपूर्ण हुने उल्लेख गर्दै हल्ला र सार्वजनिक रूपमा ढोल बजाएर मात्र समस्या समाधान नहुने बताए ।

उनले भने, ‘कुनै पनि विषय कूटनीतिको माध्यमबाट गरिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। त्यो हल्ला गरेर, ढोल बजाएर हुँदैन । गर्नुपर्ने ठाउँमा गर्नुपर्ने जसरी चरणबद्ध रूपमा हुन्छ।’

सभापति लामिछानेले पत्रकारले उठाउने विषय र जनताबाट व्यापक मत प्राप्त गरेको राजनीतिक दलले उठाउने विषय तथा शैली फरक हुने बताए । उनले छिमेकीले लोभलाग्दो विकासको फड्कोलाई चासो राखेर भेटघाट गरेको बताए ।