काठमाडौं । राजनीति पनि अचम्मको छ । चुनावअघि भोटमाग्न जनताको घरदैलोमा जाँदा नेताहरु मतदाताको खुट्टा ढोग्न पनि पछि पर्दैनन् । कसैले तरकारी काट्ने, मकै गोड्ने, धान काट्ने अनेक गरेको दृष्य तपाईँ हामीले देख्दै आएका छौँ । तर जब त्यो नेता चुनाव जितेर जान्छ, त्यसपछि उसलाई भेट्न मतदातालाई मुश्किलै पर्छ । अझ जितेर गएको नेताको दल सरकारमा छ भने त उसको भुइँमै खुट्टा हुन्न । यसअघि हामीले त्यस्तै देख्दै आएका थियौँ । तर जेनजी विद्रोहपछिको निर्वाचनबाट बनेको रास्वपाका सांसदबाट जनताले त्यस्तो अपेक्षा गरेका थिएनन् ।

तर सरकार गठनको चार महिना नपुग्दै रास्वपाका मन्त्री र सांसदबाट मतदाता धम्की खेप्न बाध्य भएका छन् । हुन त चुनावअघि प्रधानमन्त्री बालेन साहले काम नगर्ने ठेकेदारलाई रुखमा बाँध्ने धम्की दिएका थिए । त्यसै भएर होला र पृथ्वी रागमार्गअन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेकेदारको ‘खुट्टा भाँच्ने’धम्की दिए । मन्त्री लम्सालले भनेका थिए, ‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू । घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन ।’

मन्त्रीले नै यसरी धम्की दिएपछि सांसद पनि के कम । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले प्रश्नकर्तालाई जाकिदिने धम्की दिएका छन् । कैलालीको लम्कीचुहा अस्पतालको सेवा र यसको समस्याका विषयमा छलफलमा सहभागी अस्पताल व्यवस्थापन समितिका सदस्य धीरेन्द्र थापालाई धम्की दिएका छन् ।

सार्वजनिक भएको भिडियोमा सांसद खनाल धम्कीपूर्णरुपमा प्रस्तुत भएका देखिन्छन् । उनले भनेका छन्, ‘कसले भन्यो प्रमाण छ ? हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ । यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ । अनाधिकृत बोल्न मिल्छ ? कल्ले फोन गर्यो ? प्रमाण छ तपाईंसँग ?’ साउन ९ गते अज्ञात व्यक्तिले आएर अस्पतालमा तालाबन्दी गरेपछि थापाले शान्ति सुरक्षाको विषय उठाएका थिए ।

सरकार रास्वपाको एकलौटीको छ । बीच केही नभए पाँच वर्षसम्म यो सरकार नै रहन्छ । तर सरकार गठनको चार महिनामै सत्तारुढ दलका मन्त्री र सांसदका यस्ता धम्कीपूर्ण  श्रृंखलाबद्धरुपमा आउन थालेपछि पाँच वर्षसम्म नेपाली जनताले अरु के के देख्नुपर्ने हो ?