काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
विज्ञप्ति जारी गरी आङदेम्बेले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र तत्काल गृहमन्त्रीले यसको जवाफ दिनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘सुरक्षाकर्मीले पनि कानुनको पालना गर्दै अधिकतम संयमता अपनाएर शान्ति र सुरक्षाको वातावरण कायम गर्नुपर्छ । सरकारले घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्छ । शान्ति, सुव्यवस्था कायम गर्न नसक्नु गृह मन्त्रालयको गम्भीर कमजोरी हो । यो घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ र तत्काल गृहमन्त्रीले यसको जवाफ दिनुपर्छ ।’
उनले पीडादायक घटनामा सबैलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जमा भएको दुःखद घटनाले मलाई गम्भीर बनाएको छ । दुई जना नागरिकले ज्यान गुमाउनु र दर्जनौँ घाइते हुनु अत्यन्त पीडादायक घटना हो । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै, सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । यस्तो संवेदनशील अवस्थामा सबै पक्षले उच्चतम संयमता अपनाउनु पर्दछ । हिंसा, आगजनी, तोडफोड र प्रतिशोधले कुनै पनि समस्याको समाधान गर्दैन । त्यसैले सम्बन्धित दुवै समूहलाई शान्त रहन, सहिष्णुता कायम राख्न र आपसी सद्भाव जोगाउन हार्दिक आग्रह गर्दछु ।’
उनले पछिल्लो समय सरकारप्रति नागरिकको आक्रोश बढेकाले जिम्मेवार ढंगले अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘पछिल्लो समय सरकारप्रति नागरिकहरूमा तीब्र असन्तोष पैदा भएको छ । परिणामतः आत्मदाह गर्ने जस्ता भयावह घटना, समाजमा शान्ति सुरक्षा र सहिष्णुतासँग सम्बन्धित संवेदनशील घटनाहरू बारम्बार दोहोरिनु सरकार कौशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नबाट चुकेको देखिन्छ । साथै, जिम्मेवार व्यक्तिहरूले यस्तो संवेदनशील बेलामा सामाजिक सञ्जालबाट थप असहिष्णुता फैल्याउने कार्य गर्न हुँदैन । हामी सबैको साझा दायित्व शान्ति, सामाजिक सद्भाव र आपसी विश्वासलाई जोगाउनु हो । कुनै पनि उक्साहट वा अफवाहको पछि नलागी संवाद, सहिष्णुता र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न सबैमा हार्दिक अपील गर्दछु ।’
