काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको सूक्ष्म अनुसन्धान गर्ने भएको छ।

आयोगले विज्ञप्ति जारी गरी कोशी प्रदेश कार्यालय विराटनगरमार्फत घटनाको प्रारम्भिक अनुगमन भइरहेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयसँग घटनाबारे जानकारी संकलन भइरहेको आयोगले उल्लेख गरेको छ।

प्रारम्भिक अनुगमनका क्रममा पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद सुरु भएको र डिजे बजाउने क्रममा विवाद चर्किएपछि तोडफोड तथा झडप भएको पाइएको आयोगले जनाएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको तथा अन्य ९ जना घाइते भएको आयोगको भनाइ छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

आयोगका अनुसार घाइतेमध्ये चार जनाको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।

घटनापछि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको, आन्दोलनकारीले लाठी, रडलगायत सामग्री बोकेर प्रदर्शन गरिरहेको तथा कप्तानगञ्जसहितका क्षेत्रमा अवस्था तनावग्रस्त बनेको आयोगले जनाएको छ। सुरक्षा अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको जानकारी पनि आयोगले दिएको छ।

आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।

साथै आयोगले राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मी तथा सर्वसाधारणलाई वार्ता र संवादमार्फत विवाद समाधान गर्दै सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपील गरेको छ।