काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले रसुवामा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति चीन दुःखी रहेको बताएका छन् । उनले विपत्तिको यस कठिन समयमा चीन नेपालसँग दृढतापूर्वक उभिएको र आवश्यक सहयोग तथा सहायता उपलब्ध गराउन तयार रहेको बताएका हुन् ।

एनटीभी वर्ल्डसँगको कुराकानीमा राजदूत झाङले प्रारम्भिक जानकारीअनुसार बुधबार बिहान नेपाली भूमिमा गएको भूकम्पका कारण हिमपहिरो र त्यसपछि आएको पहिरोले रसुवाको केरुङ–रसुवागढी सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्याएको बताएका छन् । उक्त घटनामा नेपाल र चीन दुवैतर्फ मानवीय क्षति हुनुका साथै मानिसहरू बेपत्ता भएको उनको भनाइ छ ।

राजदूत झाङले विपत्तिपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिन निर्देशन दिएको जानकारी दिए । जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने, घाइतेको तत्काल उपचार गर्ने, मानवीय क्षति न्यून गर्ने तथा थप विपत्तिको जोखिम रोक्न निगरानी र पूर्वसूचना प्रणाली सुदृढ गर्न राष्ट्रपतिले निर्देशन दिएको उनले बताए ।

विपत्ति लगत्तै नेपालस्थित चिनियाँ दूतावासले आपतकालीन संयन्त्र सक्रिय गर्दै प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी संकलन गरेको उनले बताए । साथै, नेपाली सरकार र सम्बन्धित निकायसँग समन्वय गर्दै उद्धारका लागि कार्यदल प्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिए ।

चीनतर्फ पनि ठूलो क्षति भएको अवस्थामा नेपाललाई आपत्कालीन सामग्री र नगद सहयोग उपलब्ध गराउने प्रक्रिया तत्काल अघि बढाइएको राजदूत झाङले बताए । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य तथा राज्य परिषद्का उपप्रधानमन्त्री झाङ गुओछिङको नेतृत्वमा सम्बन्धित अधिकारीहरू तिब्बत पुगेर उद्धार तथा विपद् व्यवस्थापन प्रयासको समन्वय गरिरहेको उनले बताए ।

नेपाल र चीनका सम्बन्धित निकायबीच विपद् मूल्याङ्कन, खोज तथा उद्धार र आगामी प्रतिक्रियाका विषयमा समन्वय भइरहेको पनि उनले जानकारी दिए ।

राजदूत झाङले विपत्तिको सामना गर्न नेपाली सरकार र सम्बन्धित निकायले गरेको प्रभावकारी प्रयासको प्रशंसा गर्दै नेपाली जनताको धैर्य र दृढताको समेत सराहना गरे ।

भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि नेपाल र चीनबीच विपद् व्यवस्थापनमा थप सहकार्य आवश्यक रहेको उनले बताए । उनका अनुसार मौसम, जलविज्ञान तथा भूगर्भीय विपद्सम्बन्धी सूचना आदानप्रदान, निगरानी तथा पूर्वसूचना प्रणाली सुदृढ गर्ने, आपत्कालीन उद्धारमा समन्वय बढाउने तथा जनशक्ति तालिम, प्राविधिक आदानप्रदान र आपत्कालीन सामग्रीको व्यवस्थालाई थप प्रभावकारी बनाउने काम गर्न सकिन्छ ।

‘नेपाल र चीन हिमाल र नदीले जोडिएका निकट छिमेकी हुन्,’ राजदूत झाङले भने । उनले नेपालको आवश्यकताअनुसार चीनले आफ्नो क्षमताले भ्याएसम्म निरन्तर सहयोग र सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल र चीनको विपद् सामना गर्ने क्षमता संयुक्त रूपमा बढाउँदै दुवै देशका नागरिकको जीवन तथा सम्पत्तिको संरक्षणमा सहकार्य गरिने उनको भनाइ छ ।