काठमाडौँ । चीनले नेपाललाई उपलब्ध गराएको ५० टन आपतकालीन राहत सामग्रीसहित चिनियाँ उद्धार टोली काठमाडौँ आइपुगेको छ ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाका दुईवटा वाई–२० ठूला ढुवानी विमान आइतबार बिहान करिब ७ बजे राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
विमानमा चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ तथा उद्धारका लागि आवश्यक उपकरणसमेत ल्याइएको छ । राहत सामग्री हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र सांसद धर्म केसी सहभागी भएका थिए । उनीहरूले चिनियाँ उद्धार विशेषज्ञलाई स्वागत गरेका थिए ।
चिनियाँ दूतावासका अनुसार दुवै विमान चीनको छेन्दुस्थित शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका थिए । करिब तीन घण्टाको उडानपछि ती विमान काठमाडौँ आइपुगेका हुन् ।
चीनले पठाएको राहत सामग्रीमा पाल, कम्बल, सुत्ने झोला, ड्राइ बिस्कुट तथा प्राथमिक उपचार सामग्रीलगायत १३ हजार २०० थान सामग्री रहेका छन् । ती सामग्रीको कुल तौल ५० टन रहेको छ ।
