काठमाडौँ । नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ ’ए’ जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ ।

प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ ।

यसअघि टोलीले आइतबार दिउँसो २ बजे सुरुङको मुख्य भाग (‘क्राउन हेड’) मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्‍यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।