काठमाडौँ । विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले प्रस्ताव गरे पनि सरकारले गठनको प्रक्रिया नबढाएको भन्दै विपक्षी दलका सांसदले आलोचना गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले र नेकपाका सांसदहरूले सत्तारुढ दलको सभापतिको प्रस्ताव सरकारले नसुनेको बताएका हुन् । सभापति लामिछानेले बाढी लगत्तै भदौ ११ गते बसेको सर्वदलीय बैठकमा त्यस्तो संयन्त्र गठन गर्ने प्रस्ताव गरेका थिए । उनले भदौ २४ गते प्रतिनिधि सभा बैठकमा बोल्दै त्यस्तो संयन्त्र गठनको प्रस्ताव गरेका थिए ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले रास्वपाका शक्तिशाली सभापतिले उद्घोष गरेको कुरा सरकारले नमानेको हो वा सभापति लामिछानेले भन्न नजानेको हो भनेर प्रश्न गरेका छन् । उनले भने, ‘शक्तिशाली सत्तारुढ दलका सभापतिले संसद्मा सर्वदलीय विशेष समिति निर्माण गरी अन्तर्राष्ट्रिय कूटनीतिक पहल र राष्ट्रिय एकता कायम गरेर भोटेकोशी नदी बाढीबाट प्रभावित क्षेत्रको उद्धारदेखि पुनर्निर्माणसम्मको लागि पहल गर्ने उद्घोष गर्नुभयो, गडगडाहट तालीले हल गुन्जियो। तर आज त्यो घोषणा गरेको एक हप्ता बितिसकेको छ, संयन्त्र बन्ने कुनै पहल भएन ।’
माले संसदीय दलकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढी प्रभावितको खोज–उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काम थप प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठनको माग गरिन् । उनले भनिन्, ‘राहत, खोज–उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका काम थप प्रभावकारी बनाउन सहयोग पुग्ने गरी सर्वदलीय विशेष संसदीय समिति गठन गरियोस् ।’
उनले भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै दीर्घकालीन पुनःस्थापनाका लागि छुट्टै अधिकारसम्पन्न निकाय गठन गर्न सरकारसँग माग गरिन् । उनले भनिन्, ‘यस्तो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस् ।’
