रोयटर्स । होर्मुज जलडमरूमध्य नजिक क्षेप्यास्त्र प्रहारबाट क्षतिग्रस्त भएका दुई व्यावसायिक जहाज डुबेका छन् । पछिल्लो २४ घण्टाभित्र भएका छुट्टाछुट्टै घटनामा एउटा कन्टेनर जहाज र अर्को सुख्खा मालवाहक जहाज डुबेका हुन्। घटनामा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ भने अन्य सदस्यलाई उद्धार गरिएको छ।
समुद्री अधिकारीहरूका अनुसार सिंगापुरको झण्डा बोकेको ‘जीएफएस प्राइड’ र एन्टिगुवा तथा बारबुडाको झण्डा बोकेको ‘केप डाओ’ जहाज डुबेका हुन्। पछिल्लो १० दिनयता उक्त जलमार्ग आसपास व्यावसायिक जहाजमाथिका आक्रमण बढिरहेका छन्।
सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणका अनुसार मंगलबार होर्मुज जलडमरूमध्य पार गरिरहेको जीएफएस प्राइडमा क्षति पुग्नुका साथै आगलागी भएको थियो। त्यसपछि जहाज डुबेको प्राधिकरणले बुधबार पुष्टि गरेको हो। जहाजमा रहेका सबै २१ जना चालक दलका सदस्यलाई सुरक्षित उद्धार गरिएको र कोही पनि घाइते नभएको जनाइएको छ।
त्यस्तै, केप डाओ जहाजमा गत सेप्टेम्बर २३ मा क्षेप्यास्त्र प्रहार भएको थियो। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय सामुद्रिक सङ्गठन (आईएमओ) को तथ्याङ्कअनुसार उक्त जहाज बुधबारसम्ममा डुबेको हो। आक्रमणलगत्तै चालक दलका अन्य सदस्यलाई उद्धार गरिए पनि एक जनाको मृत्यु भएको समुद्री स्रोतले जनाएको छ।
अमेरिका–इरान युद्ध सुरु भएको फेब्रुअरी २८ यता डुबेका जहाजमध्ये जीएफएस प्राइड दोस्रो र केप डाओ तेस्रो जहाज भएको आईएमओको दुर्घटनासम्बन्धी तथ्याङ्कको विश्लेषणले देखाएको छ।
होर्मुज जलडमरूमध्य आसपास जहाजमाथिका आक्रमण बढ्नुमा इरानले आफ्ना बन्दरगाहमा अमेरिकाले लगाएको नाकाबन्दी र गत महिना थप कडा बनाइएका प्रतिबन्धको प्रतिकारस्वरूप आक्रमण तीव्र पारेको जनाएको छ।
सिंगापुरको समुद्री तथा बन्दरगाह प्राधिकरणले व्यावसायिक जहाजमाथिका निरन्तर आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि अकारण र अनुचित हुनुका साथै अन्तर्राष्ट्रिय कानुनविपरीत रहेको जनाएको छ।
समुद्री जोखिम व्यवस्थापन कम्पनी मरिस्क्सले पछिल्ला घटनाले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजमाथिको जोखिम कायमै रहेको देखाएको बताएको छ। जोखिम तेल ट्याङ्करमा मात्र सीमित नभई कन्टेनर जहाज र सुख्खा मालवाहक जहाजसमेत गम्भीर रूपमा प्रभावित भइरहेको कम्पनीको भनाइ छ।
होर्मुज जलडमरूमध्य विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक हो। यस क्षेत्रमा बढ्दो आक्रमणले अन्तर्राष्ट्रिय समुद्री यातायात र व्यापारमा थप जोखिम सिर्जना गरेको छ ।
