काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर ४ का लागि आफ्नो चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।
सभापति थापाले सोमबार स्थानीय पूर्वाधार सुधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, महिला सशक्तीकरण र बाढी नियन्त्रणसम्मका कार्यक्रमलाई प्राथमिकतामा राख्दै प्रतिज्ञा सार्वजनिक गरेका हुन् ।
थापाले मतदातालाई सम्बोधन गर्दै मधेसको माटो लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण आधार भूमि रहेको उल्लेख गरेका छन् । उनले मधेसका मुद्दालाई राष्ट्रिय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
उनले आफू सर्लाही आउनुअघि हुलाकी राजमार्ग संवाद कार्यक्रमका क्रममा यहाँका गाउँबस्तीमा पुगेको बताए भन्दै सो क्रममा अलपत्र पुल, डुबानको समस्या, कमजोर सडक तथा आधारभूत सेवाको अभावजस्ता समस्याहरू नजिकबाट देखेको उल्लेख गरेका छन् ।

