हैदरावाद । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेट्रोल, डिजेल र ग्यासको सकेसम्म कम प्रयोग गर्न जनतालाई अपिल गरेका छन् । उनले यसले विदेशी विनिमयको बचत हुनुका साथै विश्व युद्धजस्तो अवस्थाको प्रभाव पनि कम हुने बताएका छन् ।

मध्यपूर्वमा जारी सङ्कटका बीच उनले भारतले पेट्रोलियम पदार्थको विकल्पका रूपमा सौर्य ऊर्जा, इथानोल, सीएनजी र पाइप्ड ग्यासलाई बढावा दिइरहेको बताए । हैदराबादमा करिब ९ अर्ब ४० करोड भारतीय रुपैयाँ बराबरका परियोजनाको उद्घाटन र शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

मोदीले भारतले ठूलो परिमाणमा पेट्रोलियम पदार्थ विदेशबाट आयात गर्ने भएकाले आवश्यकता भन्दा बढी प्रयोगले देशको अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने उल्लेख गरे । उनले विश्व अहिले ऊर्जा सङ्कटबाट गुज्रिरहेको र मध्यपूर्वको तनावले अवस्था अझ जटिल बनाएको बताए ।

उनले पेट्रोलियम पदार्थको बुद्धिमानीपूर्वक प्रयोगले विदेशी विनिमय बचत मात्र नभई युद्ध र विश्वव्यापी संकटको प्रभाव पनि कम गर्न सकिने धारणा राखे ।

प्रधानमन्त्री मोदीले पछिल्ला वर्षमा भारत सौर्य ऊर्जाको क्षेत्रमा विश्वका अग्रणी देशमध्ये परेको उल्लेख गर्दै पेट्रोलमा इथानोल मिश्रणको काम तीव्र गतिमा अघि बढाइएको बताए ।

सरकारले देशका हरेक घरमा एलपी ग्यास पुर्‍याउने कामसँगै अब पाइपबाट सस्तो दरमा ग्यास उपलब्ध गराउने र सीएनजी प्रणाली विस्तार गर्ने काम पनि अघि बढाइरहेको उनले बताए । यी प्रयासले भारतलाई ऊर्जा सङ्कटको सामना गर्न सक्षम बनाएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले तेलङ्गानाका मुख्यमन्त्री ए. रेवन्त रेड्डीलाई केन्द्रसँग समन्वय गरेर काम गर्न सुझाव दिएका छन् । साथै, राज्य र केन्द्रबीच सहकार्य भए मात्र देशको विकास सम्भव हुने उल्लेख गर्दै ‘विकसित भारत २०४७’ को लक्ष्य हासिल गर्न सामूहिक प्रयास आवश्यक रहेको बताए ।