काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद जगदीश खरेलले प्रधानमन्त्री उपस्थित हुने वा नहुने कुरामा विपक्षीले संसदमा हलो अड्काउन नहुने भन्दै विपक्षी सांसदहरुप्रति आक्रोश पोखेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद खरेलले आठ वटा अध्यादेश सरकारले संसदमा किन ल्याउनु पर्यो भनेर आज महसुस भइरहेको भन्दै आक्रोश पोखेका हुन् ।
उनले भने, ‘यतिधेरै ऐन–कानुन किन बन्न सकेनछ भन्ने कुरा यो तमासाले देखाइरहेको छ ।’ सांसद खरेलले पर्यटनसम्बन्धी ऐन नबनेको आधा शताब्दी भइसकेको बताउँदै उनले ४८ वर्षदेखि बन्न नसकेको ऐन बनाउन आफूहरु अगाडि बढिरहेका बेला एउटा प्रधानमन्त्री उपस्थित हुने–नहुने कुराले आधा शताब्दीदेखि बन्न नसकेको यो ऐन बनाउने प्रक्रियामा विपक्षीले हलो अड्काउन नमिल्ने बताए ।
उनले भने, ‘संसद विपक्षीहरुले अवरोध गर्ने थलो त हो तर, कानुन बनाउने थलो पनि हो । यो स्मरण गराउन चाहन्छु ।’ सांसद खरेलको अभिव्यक्तिपछि विपक्षी दलका सांसद आक्रोशित बनेका थिए । त्यसपछि सभामुख अर्यालले १५ मिनेटका लागि वैठक स्थगित गरेका छन् ।
