काठमाडौं । नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रधानमन्त्री बालेन साहले नेपालले भारतको भूमि मिचेको भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गरी संसदमा कविता वाचन गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद थपलियाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लक्षित गर्दै कविता सुनाएकी हुन् । उनले बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दैे कविता सुनाएकी हुन् । कविताः देश बिर्सिएको दिन तिमीले देश बनाउँछु भन्यौ म ढुक्क थिएँ तर एकाएक तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै आफ्नै आमाको अस्मितामाथि औँला उठायौ ! माटो छोएर कसम खायौ तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ अनि आमाको महिमा गाइरह्यौ तर सन्तान हुनुको कर्तव्य भुल्यौ काख र कोखको माया बिर्सियौ ! त्यसैले आज म ढुक्क होइन मेरो मन देशको चिन्ताले ढुकढुक भैरहेको छ । । स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला तर नबिर्स तिमीमाथि असीम भरोसा बोकेर मतको भारी बिसाउने जनतालाई नबिर्स जनता उभिएको माटोलाई नबिर्स तिमीलाई आशिष दिने ति बा–आमालाई नबिर्स ! ! ! यसरी बिर्सने सिलसिला बढ्दै गयो भने एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ र जुन दिन देश बिर्सिन्छौ त्यो दिन तिमी कसको शासक बन्नेछौ ? भन त्यो दिन तिमी कसको शासक बन्नेछौ?