काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान आर्थिक अवस्थालाई चलायमान बनाउन मध्यम वर्गको क्रयशक्ति, निजी क्षेत्रको भरोसा र राज्यको खर्च गर्ने क्षमता पुनःस्थापित गर्नु आवश्यक रहेको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेक्रममा अर्थमन्त्री वाग्लेले गरिब, किसान र श्रमिकका विषयमा पर्याप्त ध्यान नदिएको भन्ने चिन्तालाई गम्भीर रूपमा लिएको बताए ।
उनले भने, ‘कतै गरिबहरू यस बजेटमा अटेनन् कि ? मध्यम वर्ग भनेको को हो भन्ने बुझाइ अधुरो भयो कि ? कृषि र श्रमका विषयमा यहाँहरूले उठाउनुभएको चासोलाई मैले अत्यन्त गम्भीरतापूर्वक लिएको छु ।’
अर्थमन्त्री वाग्लेले कोभिड–१९ महामारीपछि नेपालको अर्थतन्त्र पूर्ण रूपमा तंग्रिन नसकेको उल्लेख गर्दै विगत केही वर्षदेखि कमजोर माग (एग्रिगेट डिमान्ड) का कारण आर्थिक गतिविधिमा शिथिलता आएको बताए।
‘यसलाई केवल मध्यम वर्गमुखी वा सहरी वर्गमुखी भनेर व्याख्या गर्नु यथार्थपरक हुँदैन,’ उनले भने, ‘मध्यम वर्गको क्रयशक्ति बढ्दा वा घट्दा उद्योग, व्यापार, पर्यटन र रोजगारीका क्षेत्र प्रत्यक्ष रूपमा प्रभावित हुन्छन् । ’
अर्थमन्त्री वाग्लेले कम्युनिस्ट पार्टी ल्याएको नभएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ल्याएको कार्यक्रम भएकाले फरक रहेको बताए । ‘बजेटमा सुधारमार्फत लाखौँ श्रमिकलाई सुरक्षित र औपचारिक श्रम बजारमा आबद्ध गर्ने आधार तयार गरिएको छ यो कुनै कम्युनिस्ट पार्टीले ल्याएको कार्यक्रम होइन, यो राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको कार्यक्रम हो।’
उनले भेनेजुयला र जिम्बाबेको नभएर चीनले जसरी गरिबी घटाउने गरी बजेट ल्याएको दाबी गरे । उनले भने, ‘पैसा मात्रै बाढ्न थाल्यौँ भने त भेनेजुयला जस्तो भइहाल्यौँ नि। जिम्बाबेजस्तो भइहाल्यौँ नि। तीन चार वर्षमा टाट पल्टिन्छ ।’
उनले अरुले करको दर घटाउने दायरा बढाउने भनेपनि नगरेको र आफूले आँट गरेको बताए । उनले भने, ‘हामीले यो गीत पनि सुनेकै हो । धेरैले गीत गाए, करको दर घटाउने दायरा बढाउने । तर, कसैले गरेनन् । हामीले जोखिम मोलेर आँटेकै हो ।’
उनले शिक्षा, स्वास्थ्यलगायतमा लगाइएको करभन्दा ज्यादा गरी व्यक्तिगत आयमा लाग्ने आयकरमा भारी छुट दिएको बताए । १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्र कर तिरे हुने व्यवस्थाले धेरै राहत र छुट मिलेको भन्दै अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाइएको सामान्य करभन्दा बढी फाइदा पुगेको दाबी गरे ।
उनले आफूमाथि लागेको करको दर हेरफेरको आरोपप्रति आपत्ति जनाएका छन् । आफूहरु सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको र जनताले त्यो कठोर प्रतिबद्धतालाई अनुमोदित गरेको २ महिनामै धोका दिने कल्पना नगर्न आग्रह गरे ।
उनले भने, ‘स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा व्यापारी पोस्यो भन्ने खालका पनि सुनिए । सांसदहरूले गरिमा आफ्नो गरिमा आफैँ राख्नुपर्छ। यो सदनको ओज घटाउने कामतिर हामी लाग्नु हुँदैन। सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको र जनताले त्यो कठोर प्रतिबद्धतालाई अनुमोदित गरेको २ महिनामै हामी धोका दिन सकौँला? सक्दैनौँ।’
उनले आफूले २ अर्ब नभई २ रुपैयाँ बदमासी नगरेको बताए। उनले भने, ‘दुई अर्ब होइन, दुई रुपैयाँ बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्याग्छु। यो नैतिक आँट र उचाइ मप्रति औँला ठड्याउनेहरूलाई पनि प्राप्त होस्, शुभकामना छ। तपाईँका काण्डबारे हामी अनभिज्ञ हौँ र? ती पनि खुल्नेछन्।’
