बुटवल । लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारका लागि नयाँ सहमति भएसँगै गत आइतबार नै कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले कांग्रेस संसदीय दलमा राजीनामा बुझाएका थिए ।
उनीहरुले बुझाएको राजीनामा कांग्रेस संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठ र आर्थिक मामिला मन्त्री धनेन्द्र कार्कीले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका हुन् ।
लुम्बिनी प्रदेश सरकारमा काङ्ग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी थिए ।
एमाले र नेकपाकाबीचमा प्रदेश सरकार बनाउने नयाँ सहमति भएपछि नैतिक रूपमा पनि काँग्रेसका मन्त्रीहरू सरकारमा बसिरहन हुँदैन भनेर राजीनामा बुझाएको नेपाली काँग्रेस प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन् ।
