विराटनगर । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालले भोटेकोसी बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ।

अस्पतालका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मानसिंह कार्कीले बिहीबार विज्ञप्तिमार्फत बाढीका कारण घाइते भई उपचार आवश्यक पर्ने नागरिकलाई औषधिजन्य सामग्रीबाहेक उपलब्ध सम्पूर्ण उपचार सेवा निःशुल्क प्रदान गर्ने जनाएका हुन् ।
अस्पतालले घाइतेको उपचारका लागि विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक तथा विशेषज्ञ सेवा, शल्यक्रिया, सघन उपचार, अस्पताल शय्या तथा आवश्यक चिकित्सा उपकरण र पूर्वाधार तयारी अवस्थामा राखिएको जनाएको छ।

विपद्को अवस्थामा नागरिकको जीवनरक्षा र उपचारलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार अस्पतालको सम्पूर्ण स्वास्थ्य क्षमता परिचालन गरिने विज्ञप्तिमा उल्लेख छ।

अस्पतालले घाइते तथा प्रभावित नागरिकलाई यथाशीघ्र सुरक्षित रूपमा अस्पताल पुर्याउन सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था, नागरिक समाज, निजी क्षेत्र तथा आम नागरिकलाई आग्रह गरेको छ।

उद्धार, स्थानान्तरण र उपचारमा हुने सानो ढिलाइसमेत घाइतेको जीवनका लागि महत्वपूर्ण हुनसक्ने भन्दै अस्पतालले सम्बन्धित सबै पक्षलाई आपसी समन्वय र जिम्मेवारीका साथ काम गर्न अपील गरेको छ।

अध्यक्ष कार्कीले विपद्को जुनसुकै परिस्थितिमा पनि नागरिकको जीवनरक्षा र उपचारमा अस्पतालले आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।