काठमाडौँ । भारतबाट ११ टन राहत सामग्री बोकेको चौथो उडान नेपाल आइपुगेको छ । आइतबार आएको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
यसमा खोज तथा उद्धार कार्यका लागि उपकरण सहितको सुरुङ प्राविधिक टोली, डिएनए विश्लेषणका लागि फरेन्सिक विशेषज्ञको टोली र कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट तथा हाइजिन किट जस्ता राहत सामग्रीहरू समावेश रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरले जानकारी दिएका छन् ।
भारतले विपद्को यस घडीमा हालसम्म कुल ६८.५ टन राहत सामग्री हवाई मार्गबाट काठमाडौँ पठाइसकेको जनाएको छ ।
यसअघि पठाइएका सामग्रीहरूमा अत्यावश्यक औषधि, पोर्टेबल जेनेरेटर, तयारी खानाका प्याकेट, पानी शुद्धीकरण गर्ने ट्याब्लेट र अन्य प्राविधिक उपकरणहरू समावेश रहेको विदेश मन्त्रालयले जनाएको छ । भारतले बुधबार साँझदेखि नै सहायता सामग्री पठाउन सुरु गरेको थियो ।

