नयाँदिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालमा गत बुधबार आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर रक्षामन्त्री सिंहले शोक पुस्तिकामा हस्ताक्षर गर्दै नेपालमा भएको विपत्तिप्रति समवेदना व्यक्त गरेका हुन् ।

भारत सरकार र भारतीय जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै उनले बाढीमा ज्यान गुमाउनेका परिवारप्रति दुःख व्यक्त गरेका छन् । बाढीबाट नेपाली नागरिकसँगै भारतीय नागरिकलगायत विभिन्न देशका विदेशी नागरिकसमेत प्रभावित भएको उनले बताएका छन् ।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सिंहले विपत्तिबाट प्रभावित परिवारप्रति भारतको साथ र ऐक्यबद्धता रहेको बताएका छन् ।
नेपाल र भारत निकट मित्र तथा साझेदार रहेको उल्लेख गर्दै उनले कठिन परिस्थितिमा पनि भारत नेपालसँग काँधमा काँध मिलाएर उभिएको बताएका छन्। खोज, उद्धार तथा पुनःस्थापनाका लागि नेपालले गरिरहेको प्रयासमा सहयोग गर्न भारत प्रतिबद्ध रहेको उनको भनाइ छ।