विराटनगर । भोटेकोशीको विनाशकारी बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले विराट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७२ लाख रुपैयाँ सहयोग गरेको छ।
विराट ग्रुपमा कार्यरत सम्पूर्ण कर्मचारीको एक दिनको तलबबाट संकलित ४७ लाख ५० हजार रुपैयाँ तथा ग्रुपका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीको व्यक्तिगततर्फबाट २४ लाख ५० हजार रुपैयाँ गरी कुल ७२ लाख रुपैयाँ कोषमा जम्मा गरिएको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए।
ग्रुपले आर्थिक सहयोगमा मात्र आफ्नो भूमिका सीमित नराखी बाढीबाट क्षतिग्रस्त तथा बगाइएका विद्यालय, स्वास्थ्य संस्था, बाटोघाटो लगायतका आवश्यक पूर्वाधारको पुनःस्थापनामा समेत सक्रिय रूपमा सहभागी हुने जनाएको छ।
विपद्बाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विराट ग्रुपले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विपद्को कठिन घडीमा प्रभावित परिवारसँग साथमा रहेको जनाएको छ।
यसअघि नै विराट ग्रुपका अध्यक्ष प्रा. डा. कार्कीले विपद्का कारण घाइते भई उपचार आवश्यक पर्ने नागरिकलाई उपलब्ध सेवाअन्तर्गत सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। आवश्यक परे काठमाडौंलगायत अन्य जिल्लाबाट समेत घाइतेलाई सुरक्षित रूपमा ल्याई उपचार गर्न अस्पतालले आफ्नो उपलब्ध जनशक्ति, पूर्वाधार र स्वास्थ्य क्षमता परिचालन गर्ने जनाएको छ।
विराट मेडिकल कलेज टिचिङ हस्पिटलले बाढीबाट घाइते तथा प्रभावितहरूको उपचारका लागि विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आकस्मिक तथा विशेषज्ञ सेवा, शल्यक्रिया, सघन उपचार कक्ष (आईसीयू), अस्पताल शय्या तथा आवश्यक चिकित्सा उपकरण र पूर्वाधार तयारी अवस्थामा राखेको जनाएको छ।
विराट ग्रुपले राहत तथा उपचारसँगै विपद्का कारण प्रभावित समुदायका आधारभूत स्वास्थ्य आवश्यकतालाई समेत प्राथमिकतामा राखेको छ। यसैक्रममा विराट हेल्थकेयर इन्डस्ट्रिज प्रा.लि.ले बाढी प्रभावित महिलाको महिनावारी स्वास्थ्यलाई ध्यानमा राख्दै आवश्यक सेनेटरी प्याड, डायपर लगायतका सामग्री सहयोगस्वरूप पठाएको जनाएको छ।
नेपालको स्वास्थ्य क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएको विराट ग्रुपअन्तर्गत विराट नर्सिङ होम, विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट मेडिकल कलेज तथा विराट हेल्थकेयर इन्डस्ट्रिज प्रा.लि. ले विगतदेखि नै विभिन्न विपद्का समयमा प्रभावित नागरिकको उपचार तथा स्वास्थ्य सेवामा सहयोग गर्दै आएको ग्रुपले जनाएको छ।
अध्यक्ष कार्कीले विपद्को समयमा राहत र पुनःस्थापनामा सरकारको स्रोत साधन अपुग रहने हुँदा समाजका सबै पक्षको साझा जिम्मेवारी रहनुपर्ने बताए। ‘यस्तो विपत्तिको समयमा सरकारको स्रोत-साधन मात्रै पर्याप्त नहुने हुँदा आफूले सक्ने ठाउँबाट सबैले योगदान गर्नुपर्छ,’ उनले भने, ‘विराट ग्रुप आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत राहत, उपचार तथा पुनःस्थापनाका कार्यमा सहयोग र सहकार्यका लागि प्रतिबद्ध छ।’
बाढीले मानवीय क्षतिसँगै शिक्षा, स्वास्थ्य, यातायात तथा स्थानीय पूर्वाधारमा समेत गम्भीर असर पुर्याएको अवस्थामा तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकता दिनुपर्ने कार्कीको भनाइ छ। उनले विपद्बाट प्रभावित नागरिकको जीवन सहज बनाउन सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकलाई आ-आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रहसमेत गरेका छन्।
