काठमाडौं । सरकारले भोटेकोसी नदीको बाढी प्रभावित क्षेत्रका क्षतिग्रस्त सडक असोजभित्र सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाएको छ ।
प्रधानन्त्री बालेन साहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विभिन्न विषयगत आठ वटा कार्यदल निर्माण गरी सडक र पुल निर्माणलाई गति दिएको बताए ।
मन्त्री लम्सालले पूर्वाधार पुनर्निर्माणमा दोहोरोपना हुन नदिन स्थानीय जनप्रतिनिधिलाई सघाउन आग्रह गरे । उनले बाढी प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक सञ्चालन, तुइन र झोलुंगे पुल जडानलाई गति दिइरहेको बताए । अब पक्की सडक र पुलको निर्माणलाई छिटो सक्ने गरी काम गर्ने उनको भनाइ छ ।
यही क्रममा काठमाडौंमै रहेर आफ्नो नेतृत्वको मन्त्रालयमातहत विभिन्न निकायका प्रमुखसँग छलफलमा जोडिएर आ–आफ्नो प्रभावित क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण दिन, योजना बनाउन, निर्माणमा समन्वय, अनुगमन र नियमन गर्न स्थानीय जनप्रतिनिधिहरूसँग उनले आग्रह गरे ।
‘प्रभावित क्षेत्रमा आगामी मंसिरसम्म खानेपानी प्रणाली पुनर्स्थापना गरिनेछ’, मन्त्री लम्सालले भने, ‘ती क्षेत्रमा स्वास्थ्य, शिक्षालगायत पूर्वाधार निर्माणमा पनि सरकारले काम गरिरहेको छ ।’
