विराटनगर । कोशी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘सामाजिक विकास संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सर्वसम्मतले पारित भएको छ ।

कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गर्दा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित भएको हो । यसअघि विधेयकको दफावार छलफलमा कोशी प्रदेशसभा सदस्यहरुले आ–आफ्नो धारणा राखेका थिए ।

मन्त्री राईले दफावार छलफलमा उठेका विषयमा सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सामाजिक संस्थालाई नियमन, व्यवस्थापन, सम्वद्र्धन र सूचीकृत गर्न विधेयकले मद्दत गर्ने बताए ।

उनले सरकारको कामकाजमा महत्वपूर्ण योगदान दिइरहेका सामाजिक संस्थाहरु सूचीकृत भएमा हरेक संस्थाको काम, भूमिका र प्रभावबारेमा सरकारलाई जानकारी हुने भन्दै संस्थाहरुको कामलाई अझ व्यापक, व्यवस्थित र फराकिलो बनाउन विधेयक कोशेढुङ्गा सावित हुने बताए ।