काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं वरिष्ठ इन्जिनियर श्रीराम न्यौपानेले भोटेकोस–त्रिशूली उद्धार अभियानबाट जागेको सामाजिक इन्जिनियरिङसम्बन्धी चेतनालाई देशव्यापी अभियानका रूपमा अघि बढाउने घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो संकल्प सार्वजनिक गर्दै न्यौपानेले इन्जिनियरिङमा आधारित विकासको अवधारणासहित ‘सामाजिक इन्जिनियरिङ अभियान–नेपाल’ सञ्चालन गर्ने बताएका हुन्।

उनले इन्जिनियरिङ अध्ययन, अध्यापन, ऊर्जा तथा पूर्वाधार क्षेत्रमा ३१ वर्षको अनुभव र सामाजिक सेवाबाट प्राप्त ज्ञानलाई अभियानमा समर्पित गर्ने उल्लेख गरेका छन्। प्रदेश, जिल्ला, गाउँ तथा समाजसम्म पुगेर अभियानको अभियन्ताका रूपमा काम गर्ने उनको भनाइ छ।

नेपालको विकासका लागि हरित ऊर्जाको सन्तुलित उत्पादन र खपतलाई प्राथमिकतामा राख्दै देशलाई विकासको नमुना बनाउने साझा संकल्प अभियानको मुख्य उद्देश्य रहेको न्यौपानेले बताएका छन्।

उनले उक्त विकास मोडेललाई साझा राष्ट्रिय एजेन्डाका रूपमा स्थापित गर्न सबै राजनीतिक दल र नागरिकको साथ, सहयोग तथा समर्थनको अपेक्षासमेत गरेका छन्। न्यौपानेले ‘समृद्ध नेपाल निर्माण’ को लक्ष्यसहित अभियानलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।