सुडान । सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका कारण केवल एक साताभित्र ६३ जनाको ज्यान गएको छ । तीमध्ये अधिकांश महिला र बालबालिका रहेको एक स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।
आधिकारिक विवरणअनुसार, यो संख्या केवल अस्पतालसम्म पुर्याइएका बिरामीहरूमात्र हो । कमजोर सुरक्षाका कारण र सवारीसाधन नहुँदा थुप्रै परिवारले आफ्ना मृत आफन्तलाई उपचार नदिई गाडेका छन् ।
गत वर्षको जेठदेखि एल–फाशेर अर्धसैनिक समूह द्रुत सहायता बल (आरएसएफ) को घेराबन्दीमा परेको छ । सो समूह सुडानको नियमित सेनासँग विसं २०८० को वैशाखदेखि युद्धरत छ । एल–फाशेर डारफुर क्षेत्रको सेनाको नियन्त्रणमा रहेको अन्तिम ठूला सहरहरूमध्ये एक हो । राजधानीबाट फिर्ता भएपछि सो समूहले हालै फेरि आक्रमण बढाएको छ ।
गत चैतमा नजिकैको जमजम विस्थापित शिविरमा भएको ठूलो आक्रमणपछि दशौँ हजार व्यक्ति पुनः विस्थापित भएर एल–फाशेरमै शरण लिन बाध्य भएका छन् ।
एक समय जीवनरक्षक मानिएका सामूहिक भान्साघरहरू खाद्यान्न अभावका कारण बन्द भइसकेका छन् । केही परिवार पशुचौँरीलाई दिने घाँस वा फालिएका खानेकुरा खाएर गुजारा गरिरहेका छन् भन्ने खबर आएको छ ।
संयुक्त राष्ट्रसंघका अनुसार, एल–फाशेरमा पाँच वर्षभन्दा मुनिका करिब ४० प्रतिशत बालबालिका तीव्र कुपोषणबाट ग्रस्त छन्, जसमध्ये ११ प्रतिशत गम्भीर कुपोषणको शिकार छन् ।
साउनमा वर्षा याम चरममा पुग्ने भएकाले सहरसम्म पुग्न झनै कठिन भएको छ । बाटाहरू बिग्रिएका कारण राहत सामग्री पुर्याउन असम्भवजस्तै बनेको छ ।
तीन वर्षदे खजारी युद्धले दशौँ हजारको मृत्यु गराइसकेको छ, लाखौँ विस्थापित भएका छन् र संयुक्त राष्ट्रसंघका अनुसार यो हाल विश्वकै सबैभन्दा ठूलो विस्थापन र भोकमरीको संकट बनेको छ ।
