काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागारमा सारिने भएको छ ।

कारागार व्यवस्थापन विभागले लामिछानेको माग अनुसार नै नख्खु कारागारमा स्थानान्तरणका गर्न रुपन्देही कारागारलाई पत्र लेखेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिएका छन् । लामो समयदेखि रोकिएको लामिछानेको कारागार सरुवाको निर्णय शर्माले विभागको जिम्मेवारी सम्हालेकै दिन गरेका हुन् ।

कारागार स्थानान्तरणका लागि माग गरेपनि सरकारले यसअघि अनुमति दिएको थिएन । अब रुपन्देही कारागारले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई नक्खु कारागारमा सरुवा गर्नेछ ।

लामिछानेले सरुवा माग गर्दै अदालत र जिल्ला प्रशासन कार्यालयबाट पहिल्यै अनुमति पाइसकेका थिए। तर, गृहमन्त्री रमेश लेखकको निर्देशनमा कारागार व्यवस्थापन विभागले सरुवाको निर्णय रोकेको भन्दै आलोचना भएको थियो ।