काठमाडौं । नेकपा एमालेले चीन भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भारत र चीनबीच भएको लिपुलेक सम्झौताप्रति राष्ट्रवादी अडान राखेको भन्दै धन्यवाद अभियान चलाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राष्ट्रपति सीसँगको भेटमा लिपुलेक नेपालको भूभाग भएकाले त्यसलाई व्यापारिक मार्ग बनाउने गरी दुई छिमेकीले गरेको सहमतिप्रति आपत्ति जनाएका थिए । प्रधानमन्त्री ओलीले लिपुलेक सम्झौताप्रति नेपालको स्पष्ट अडान राखेको भन्दै एमालेले सामाजिक संजालमा धन्यवाद अभियान चलाएको हो ।
‘सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरू सार्वभौम मुलुक नेपालको भएको स्पष्ट छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ’, प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग भने, ‘नेपाल जसरी आफ्नो भूमि कुनै मुलुकविरुद्ध प्रयोग हुन नदिने विषयमा स्पष्ट छ, त्यसैगरी आफ्नो भूमिका विषयमा अरू मुलुकले गर्ने सहमतिमा पनि उत्तिकै असहमति व्यक्त गर्दछ ।’
आइतबार बिहान प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरमा नेपाली झण्डा र नेपालको नक्सा राखेर सामाजिक संजालमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ..जय जय – नेपाल !’ पोष्ट गरेपछि एमाले नेताहरुले धन्यवाद अभियान नै चलाएका छन् ।
प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, महासचिव शंकर पोखरेल, संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेता कार्यकर्ताले ओलीको जसरी नै आफ्नो तस्बिर राखेर धन्यवाद अभियान चलाएका छन् ।
तर वरिष्ठ पत्रकार टीकाराम राईले भने प्रधानमन्त्रीले लिपुलेक सम्झौताको विषय उठाउनु ठिक भएपनि परिणाम के आयो त भन्दै प्रश्न गरेका छन् । उनी भन्छन्, ‘चीनमा कुरा उठाउनु भयो ठिक छ ।तर परिनणाम के आयो ? के चीनले लिपलेक नेपालको भनी औपचारिकरूपमा स्वीकार्यो त ?’
यसअघि प्रधानमन्त्री ओलीले ‘म झोले हुँ’ भनेर सामाजिक संजालमा तस्बिर राखेपछि एमाले नेता कार्यकर्ताहरुले ‘म झोले हुँ’ भन्ने अभियान चलाएका थिए ।





