काठमाडौं । बिहीबार सरकारले सूचीकृत नभएका सामाजिक संजाल प्लेटफर्म बन्द गर्ने निर्णय गर्यो । सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय इन्टरनेट सेवा प्रदायकलाई पठाउँदै कार्यान्वयन गर्न पत्र पनि लेख्यो ।
त्यसपछि इन्टरनेट सेवाप्रदायकले धमाधम सूचीकृत भएका सामाजिक संजाल निष्क्रिय पार्न थालेका छन् । तर सरकार प्रमुख प्रधानमन्त्री केपी शर्मा ओली भने सामाजिक संजाल चलाइरहेका छन् ।
पिएम केपी शर्मा ओलीज सेक्रेटेरियट र बालकोट भन्ने दुई वटा फेसबुक एकाउन्टबाट शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको विधान महाधिवेशनका तस्बिर धमाधम पोष्ट भइरहेका छन् । यसरी जनतालाई सामाजिक संजाल बन्द गराएर प्रधानमन्त्रीले आफूले चाहिँ फेसबुक बन्द गराएको भन्दै आलोचना भइरहेको छ । अरुलाई बन्द गर्न लगाएर आफू चाहिँ फेसबुक चलाउने भन्दै प्रधानमन्त्रीको आलोचना भइरहेको हो ।
प्रधानमन्त्रीको सचिवालयमा फोटो पोष्ट भएको देखेपछि सामाजिक संजाल प्रयोगकर्ता सरोज आचार्यले कमेन्टमा लेखेका छन्, ‘देशको कार्यकारी ऊ आफैं नियम बनाऊछ ऊ आफैं तोड्छ ! को छन् यस्ता कार्यकारी प्रमुखको चाटुकार आसेपासे हरु ! दिमाग छैन् ? किन फेसबुक प्रयोग गरेको किन पोस्ट्याएको ? जनतालई खुब हेपेकाछौ हैन ! समय आउँछ ढलमुनी लुक्ने बनाएरै छौड्ने हो जति माफ गर्यो त्यति जनतालाई हेपेको छ हेपेको छ !’
त्यस्तै अर्का प्रयोगकर्ता श्रीविकास आचार्य लेख्छन्, ‘नैतिकता खै ? आफैं बन्द गर्ने आफैं झ्यालबाट पसेर चलाउने, लाज लाग्दैन ?’
भीम भण्डारी लेख्छन्, ‘अलिकति आफूले गरेको निर्णयको सम्मान आफै गरेको भए हुने नि !’
दीपक भूसाल लेख्छन्, ‘मन्त्रीस्तरीय निर्णय प्रधानमन्त्रीलाई लाग्दैन ।’
