काठमाडौं । सरकारले सामाजिक संजाल बन्द गर्ने निर्णय गरेसँगै सरकार र सत्तारुढ दलको यतिबेला आलोचना भइरहेको छ । संजाल बन्द गर्ने निर्णय गरेर सरकार प्रमुख तथा सत्तारुढ दलका नेता कार्यकर्ता प्रयोग गरी सामाजिक संजालबाट आफ्ना भनाइ तथा गतिविधि पोष्ट गरिरहेका छन् । गर्न त अरुले पनि गरेका छन् तर भिपिएनको प्रयोग गरी ।

एमालेको विधान महाधिवेन उद्घाटनको दिन शुक्रबार प्रधानमन्त्रीका दुई वटा फेसबुक एकाउन्टबाट फोटो पोष्ट भएपछि त्यसको खुबै आलोचना भयो । त्यसपछि ती एकाउन्टबाट पोष्ट हुन छाडेको छ ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सुनसरी पुगेका थिए । ‘सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पुजा कार्यक्रमलाई सम्वोधन गरेको छु’ भन्दै फेसबुकमा तस्बिर पोष्ट गरेपछि उनको स्टाटसमा थुप्रैले आलोचना गर्दै कमेन्ट गरेका छन् ।

धेरैले देउवाप्रति आक्रोश पोखेका छन् । जनतालाई सामाजिक संजाल बन्द गर्न लगाएर आफूले चाहिँ चलाएको भन्दै देउवामाथि आक्रोश पोखेका हुन् ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले देउवाको स्टाटसमा कमेन्ट गर्दै कुन भिपिएनबाट हो ? भन्दै प्रश्न गरेका छन् । बालेनले लेखेका छन्, ‘यो पोष्ट कुन भिपिएनबाट हो, नेपाली हो कि विदेशी ? सारै गारो हुने रहेछ भिपिएनबाट चलाउन त !!!’