काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको उत्तराखण्डमा बाढीमा परी हराइरहेका नेपाली नागरिकको उद्धारका लागि पहल भइरहेको बताएकी छन् ।
शुक्रबार सामाजिक संजालमार्फत मन्त्री राणाले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएको जानकारी दिएकी हुन् ।
उनले भनेकी छन्, ‘छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा केही दिनअघिको बाढीमा परी केही नेपाली नागरिक पनि बेपत्ता भएको खबरले निकै दुःख लागिरहेको छ । उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु । बाढी पहिरोमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र पीडाको यस घडीमा रहेका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
बाढीमा परी जाजरकोटको कुशे गाउँपालिकाका १३ जना, बर्दियाका चार, धादिङका चार जना परेको आशंका गर्दैैआफन्तले खोजीका लागि अनुरोध गरेका छन् ।
