काठमाडौं । प्रतिनिधिसभाले भदौ महिनामा विभिन्न महत्वपूर्ण विधेयकहरु पारित गर्नेगरी सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
बिहीबार सभामुख घिमिरे र प्रमुख सचेतकहरुको बैठकले महत्वपूर्ण विधेयकहरु पारित गर्ने गरी भदौ महिनाको क्यालेन्डर बनाएको हो ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले भूमिसँग सम्बन्धी विधेयक, नागरिकतासँग सम्बन्धित विधेयक र शिक्षा विधेयकलाई पारित गर्ने गरी क्यालेन्डर बनाएको जानकार दिए । उनकाअनुसार शुक्रबार भूमिसँग सम्बन्धी विधेयकलाई कार्यसूचीमा राख्ने र पारित गरी राष्ट्रिय सभामा पठाउने जानकारी दिए ।
उनले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधीसँग सम्बन्धी ऐन राष्ट्रपति कार्यालयबाट फिर्ता भएको र त्यसलाई सभामा छलफल गरेर पारित गर्नेगरी कार्यसूचीमा राखेको पनि बताए ।
उनले भने, ‘भदौ १८ गते सम्भवतः नागरिकतासँग सम्बन्धीत विधेयक पारित गर्छौ । त्यसैगरी संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधीसँग सम्बन्धी राष्ट्रपति कार्यालयबाट फिर्ता भएको त्यसलाई सभामा छलफल गरेर पारित गर्नेगरी कार्यसूचीमा राखेका छौ त्यो पारित गर्छौ । भदौ २६ गते शिक्षा विधेयकलाई पारित गर्नेगरी लैजान्छौ यसरी यो महिना बैठक बसेर संघीयता कार्यान्वयनसँग जोडिएको महत्वपूर्ण विधेयक शिक्षा विधेयक पारित गर्छौ ।’
बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बिना लामा सहभागी थिए ।
