काठमाडौँ । जेनजी आन्दोलन जाँचबुझ आयोगले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुन विशेषज्ञ विश्वेश्वर भण्डारी नेतृत्वको टोलीले प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउने बताएकी छन् । सरकारले गत असोज पाँचमा जेनजी आन्दोलनबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगका सदस्य विज्ञानराज शर्माले आयोगले भदौ २३ र २४ गते देखेका कुराहरू पत्ता लगाउने प्रयास गरेको बताए ।

उनले आयोगले कारबाहीको सिफारिस गरेको बताएपनि कसकसलाई कारबाहीको सिफारिस गरिएको भन्ने कुरा भने खुलाएनन् । शर्माले प्रतिवेदन कार्यान्वयन गर्ने काम सरकारको भएको बताए ।